
ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको रकम भुक्तानी नगरे महानगरपालिकाले आफैँ उक्त रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमाबापतको रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले कथं कदाचित भुक्तानी नहुँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने उल्लेख गर्दै पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिन सरकारसँग आग्रह गरे।
महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरपालिकालाई सुम्पेमा महानगरले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे। साथै, पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए।
उनका अनुसार नयाँ स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। ललितपुर महानगर र पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास बन्ने उनको विश्वास छ।
मेयर महर्जनले पाटन अस्पतालको सिफारिसअनुसार आवश्यक सुविधा जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै त्यसबाट बीमाअन्तर्गत अझ प्रभावकारी सेवा प्रवाह गर्न सकिने बताए।
उनले भने, ‘अहिले नेपाल सरकारले पैसा तिरेन भन्ने कुरा सुनिन थालेको छ। बीमाको विषयमा मन्त्रीज्युसँग कुरा गर्दा रिंगटा लागेजस्तो भयो। कथं कदाचित नेपाल सरकारले भुक्तानी नगरेर स्वास्थ्य सेवा बन्द गर्नुपर्यो भने सबैभन्दा बढी गाली मैले नै खानुपर्ने अवस्था आउँछ। पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस्। यदि नेपाल सरकारले ललितपुर महानगरपालिकाले भुक्तानी गरिदिनु भनेर औपचारिक पत्र पठायो भने म भुक्तानी गर्न तयार छु, जे पर्ला पर्ला।’
मेयर महर्जनले ७५२ पालिकामध्ये ललितपुर महानगरपालिका उदाहरणीय पालिका बन्न सफल भएको पनि दाबी गरे।


