
काठमाडौं – हृदयघात आज विश्वकै नम्बर वान ज्यान लिने रोगका रूपमा स्थापित भइसकेको छ । हाम्रो शरीरभरी रगत प्रवाह गर्ने मुटु नै अचानक काम गर्न छाड्दा केही मिनेटमै ज्यानसमेत जान सक्छ । समयमै उपचार पाएमा भने हृदयघात पूर्ण रूपमा नियन्त्रणयोग्य र ज्यान जोगाउन सकिने रोग भएको मुटुरोग विशेषज्ञहरूले बताएका छन् ।
ह्याम्स अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर दिवाकर शर्माका अनुसार मुटुमा रहेका तीनवटा प्रमुख रक्तनलीमध्ये कुनै एक नलीमा बोसोजन्य पदार्थ (फ्याट) जमेर रगतको प्रवाह बन्द भएमा त्यस अवस्थालाई हृदयघात (हार्ट अट्याक) भनिन्छ ।
के–के हुन् हृदयघातका प्रमुख कारण ?
डाक्टर शर्माका अनुसार हृदयघातका प्रमुख जोखिम कारणहरू यस्ता छन्—
- उच्च रक्तचाप
- मधुमेह
- बढ्दो उमेर
- सुर्तिजन्य पदार्थ (चुरोट, सुर्ती, गुट्खा आदि) सेवन
- असन्तुलित खानपान
- मोटोपना
- पर्याप्त निन्द्रा नपुग्नु
- दीर्घकालीन तनाव
यीमध्ये धेरैजसो कारणहरू जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । त्यसैले हृदयघात रोकथामको पहिलो आधार नै स्वस्थ जीवनशैली हो ।
हृदयघातका लक्षण: सबैमा उस्तै हुँदैन
हृदयघात हुँदा प्रायः छातीको देव्रे भागमा असह्य पीडा हुन्छ । तर सबैमा एउटै लक्षण देखिनुपर्छ भन्ने छैन ।
- कसैलाई छाती दुख्ने
- कसैलाई पेटको माथिल्लो भाग दुख्ने
- कसैलाई देव्रे पिठ्युँ, हात वा घाँटीतिर पीडा जाने
- चिसो पसिना आउने, सास फेर्न गाह्रो हुने
यस्ता लक्षण देखिनासाथ ‘कुरेर बस्ने’ वा ‘पहिले चिनेको डाक्टरलाई फोन गर्ने’ गल्ती नगर्न डाक्टर शर्माको सुझाव छ ।
शंका लागे तुरुन्त अस्पताल, ढिलाइ घातक
“हृदयघात भएको शंका लागेमा एक सेकेन्ड पनि ढिला नगरी सुविधासम्पन्न अस्पताल जानुपर्छ,” डाक्टर शर्मा भन्छन्, “ढिलाइ भएमा ज्यान जाने सम्भावना अत्यन्तै बढी हुन्छ ।”
आजभोलि क्याथल्याब सुविधा भएका अस्पतालहरूमा बन्द भएको मुटुको नली तुरुन्तै खोल्न सकिने प्रविधि उपलब्ध छ । समयमै क्याथल्याबमार्फत उपचार गरिएमा बिरामीको ज्यान जोगिनुका साथै मुटुमा हुने दीर्घकालीन क्षतिसमेत कम गर्न सकिन्छ ।
हृदयघातबाट बच्न के गर्ने ?
मुटुरोग विशेषज्ञ शर्माको सुझाव अनुसार
- स्वस्थ जीवनशैली अपनाउने
- चिल्लो, बोसोयुक्त खानपान कम गर्ने
- कोलेस्ट्रोल नियन्त्रणमा राख्ने
- नियमित व्यायाम गर्ने
- धूम्रपान र मदिरा त्याग्ने
- तनाव व्यवस्थापन गर्ने
- बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने
- रगत जाँच
- इसीजी
- आवश्यक परे इको वा अन्य परीक्षण
समयमै गरिएको जाँच र सचेत जीवनशैलीले हृदयघातको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने डाक्टर शर्माको भनाइ छ ।


