
बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको १ हजार २०० शय्या क्षमता भएको आधुनिक अस्पताल भवन निर्माण तीव्र गतिमा चलिरहेको छ। प्रदेशका नागरिकलाई सहज, स्तरीय र व्यापक उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित अघि बढाइएको यो परियोजना लुम्बिनी प्रदेशको ‘गौरव’ आयोजनाका रूपमा पहिचान भएको छ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार १४ महिनामा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत पुगेको छ। १५ भदौ २०८१ मा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेपछि ११५ वर्ष पुरानो संरचना हटाइएर नयाँ अत्याधुनिक अस्पतालको निर्माण सुरु गरिएको हो। ठेकेदार कम्पनीले शिफ्ट प्रणालीमै दिनरात काम गर्दै आएको छ।
आयोजना प्रमुख इन्जिनियर छविराज पोखरेलका अनुसार बजेट अभाव नपरे २०८५ पुसअघि नै अस्पताल हस्तान्तरण गर्न सकिने क्षमता रहेको छ। हाल मुख्य भवनको आधारभाग, भुइँतलाको ढलान तथा अन्कोलोजी ब्लकको पहिलो तल्लासम्मका संरचनागत काम भइसकेका छन्। ३०० मजदूर र १० प्राविधिकको टोलीले दुई क्रेनसहित अत्याधुनिक उपकरणमार्फत काम गरिरहेको साइड इन्जिनियर शंकर सुवेदीले बताए।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय कम्पनी ‘क्यापासाइट–आशिष–रेलिग्रेट’ भेञ्चरले नेपाली कम्पनीसँग मिलेर ६ अर्ब १८ करोड रुपैयाँमा ५ वर्षभित्र ‘इन्टेरियर सोलुसन’सहित भवन निर्माण गर्ने ठेक्का पाएको छ। १२ तले मुख्य भवन, पाँच तले क्यान्सर अस्पताल, अत्याधुनिक ओपीडी, इमर्जेन्सी, विशेष सेवा केन्द्र, हेलिप्याडदेखि अत्याधुनिक लिफ्टसम्म समावेश हुने संरचना गुरुयोजना अनुसार निर्माण भइरहेको हो।
अहिले ५२४ शय्या संचालनमा रहेको अस्पतालले दैनिक १ हजार ६०० जनालाई सेवा दिँदै आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा क्षमता २ हजारभन्दा बढी पुग्नेछ। अस्पताललाई ‘पश्चिम नेपालको उपचार हब’ बनाउने अपेक्षा प्रदेश सरकारको छ। काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘यूनिकसल्ट सेन्टर’को १६ सदस्यीय टोलीले डिजाइन तथा निर्माण सुपरिवेक्षण गरिरहेको छ। भविष्यमा मेडिकल कलेजको प्राक्टिकल सेन्टर बनाउने नीति समेत प्रदेश सरकारले समावेश गरेको छ।


