
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पंचकर्म तथा योग केन्द्रको अनुगमन गर्दै संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएकी छिन्।
हिजाे गरिएको निरीक्षणका क्रममा मन्त्री शर्माले केन्द्रलाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न आवश्यक पर्ने चुस्त–दुरुस्त संगठनात्मक संरचना तथा दरबन्दीका लागि आवश्यक टेरिज स्वीकृत गर्ने आश्वासन दिइन्। उनले आयुर्वेद, पंचकर्म र योग सेवा विस्तारमा आत्मनिर्भरता र दिगोपनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
निरीक्षणपछि मन्त्री शर्माले केन्द्रको विकास, सेवा विस्तार तथा उपयोगका सम्भावनाबारे सम्बन्धित अधिकारीहरूसँग छलफलसमेत गरेकी छिन्। उनले आधुनिक स्वास्थ्य सेवासँगै परम्परागत उपचार पद्धतिलाई सशक्त र व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।


