

नवलपुर – नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले औषधिविहीन उपचार पद्धतिमार्फत हजारौँ बिरामीलाई सेवा प्रदान गर्दै आफूलाई देशकै नमुना प्राकृतिक स्वास्थ्य संस्थाका रूपमा स्थापित गरेको छ। विशेषगरी कोभिड–१९ महामारीका बेला भर्ना भएका ७८९ जना बिरामीको सफल उपचार गरेपछि चिकित्सालय थप चर्चामा आएको हो।
गण्डकी प्रदेशको योग तथा प्राकृतिक चिकित्साको गौरवका रूपमा चिनिने यस चिकित्सालयमा नेपालका विभिन्न जिल्लामात्र नभई विदेशबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन्। कोभिड महामारीका क्रममा दुधे बालकदेखि ८९ वर्षसम्मका ज्येष्ठ नागरिकको समेत सफल उपचार गरिएको अस्पतालले जनाएको छ।
चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाका अनुसार संस्थाले प्राकृतिक चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आहार चिकित्सा, जडीबुटी चिकित्सा, अनुसन्धानात्मक योग चिकित्सा, मनोचिकित्सा, फिजियोथेरापी तथा पुनःस्थापना सेवामार्फत उपचार प्रदान गर्दै आएको छ। औषधिविहीन उपचार पद्धतिलाई वैज्ञानिक ढंगले प्रयोग गर्दै शारीरिक, मानसिक, तीव्र तथा दीर्घरोगको उपचारमा दीर्घकालीन समाधान दिने प्रयास भइरहेको उनको भनाइ छ।
संस्थाले प्रकृतिमै आधारित जीवनशैली अपनाउन प्रेरित गर्दै रोगीलाई स्वस्थ र स्वस्थ व्यक्तिलाई दीर्घजीवी बनाउने उद्देश्यका साथ सेवा सञ्चालन गरिरहेको जनाएको छ। सेवाग्राहीहरूका अनुसार औषधिमा निर्भर नभई जीवनशैली सुधार, योग, ध्यान तथा प्राकृतिक विधिबाट उपचार गरिने भएकाले यहाँको सेवा प्रभावकारी बन्दै गएको छ।
नवलपुर फारम निवासी बलराम आचार्यले पेट र खुट्टासम्बन्धी समस्याको उपचारका लागि करिब डेढ महिना चिकित्सालयमा बसेर सेवा लिएको अनुभव सुनाउँदै यहाँबाट सकारात्मक परिणाम पाएको बताए। उनका अनुसार हिँड्न नसक्ने अवस्थाका बिरामी उपचारपछि सहज रूपमा हिँडेर फर्किएको तथा अत्यधिक मोटोपन भएका व्यक्तिले उल्लेखनीय तौल घटाएर घर फर्किएको आफूले प्रत्यक्ष देखेका छन्।
वि.सं. २०६७ मा स्थापना भएको चिकित्सालयले हालसम्म ६० हजारभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिसकेको छ। जीवनशैली परिवर्तनमार्फत स्वास्थ्य सुधार गर्ने अवधारणालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको संस्थाले हजारौँ व्यक्तिमा नयाँ आशा जगाउन सफल भएको महाप्रबन्धक सापकोटाको दाबी छ।
‘आहार नै औषधि’ अभियान
चिकित्सालयले ‘आहार नै औषधि’ भन्ने अवधारणाअनुसार अर्गानिक कृषि, गौपालन, जडीबुटी खेती र मौरीपालनलाई समेत प्रवर्द्धन गर्दै आएको छ। उपचारका क्रममा आवश्यक पर्ने दूध, दही, घिउ, मह तथा तरकारी संस्थाले आफैं उत्पादन गर्ने गरेको छ।
बिरामीका लागि चिकित्सकको प्रत्यक्ष निगरानीमा प्राकृतिक, अर्गानिक र सात्विक भोजनको व्यवस्था गरिएको छ। अस्पतालमा अनुभवी चिकित्सक, फिजियोथेरापिस्ट र योग थेरापिस्टको टोलीले २४ घण्टा सेवा दिँदै आएको छ। आधुनिक उपकरणको प्रयोगसँगै योग, ध्यान, प्राणायाम, मनोपरामर्श तथा विश्राम विधिहरूलाई पनि उपचार प्रक्रियामा समावेश गरिएको छ।
पुनःस्थापनादेखि मानसिक स्वास्थ्यसम्म सेवा
शल्यक्रियापछिको पुनःस्थापना, दुर्घटनापछिको पुनःस्थापना तथा क्यान्सर पुनःस्थापना सेवासमेत सञ्चालन गरिरहेको चिकित्सालयले बहिरंग र अन्तरंग सेवा, एम्बुलेन्स तथा हेल्थ सपसमेत सञ्चालन गरिरहेको छ। जल चिकित्सा, वाष्प स्नान, माटो चिकित्सा, वैज्ञानिक मालिस, योग थेरापी, उपवास चिकित्सा, फिजियोथेरापी लगायतका सेवामार्फत विभिन्न रोगको उपचार गरिँदै आएको छ।
चिकित्सालयले कब्जियत, पायल्स, अल्सर, ग्यास्ट्राइटिस, कलेजोसम्बन्धी रोग, एलर्जी, दम, माइग्रेन, ढाड तथा कम्मर दुखाइ, बाथ, साइटिका, नशा च्यापिने समस्या, जोर्नी दुखाइ, पक्षघात, मधुमेह, उच्च रक्तचाप, थाइराइड, मोटोपना, अनिद्रा, मानसिक तनाव, डिप्रेसन, मिर्गौला तथा छालासम्बन्धी रोगको उपचारसमेत गर्दै आएको जनाएको छ।
‘अस्पतालभन्दा जीवनशैली सिकाउने विद्यालय’
चिकित्सालयका पूर्वनिर्देशक डा. विनोद पौडेलका अनुसार प्रारम्भिक चरणमा प्राकृतिक चिकित्सा पद्धतिप्रति जनविश्वास स्थापित गर्न निकै कठिन थियो। तर अहिले प्राकृतिक उपचार विधिले समाजमा विश्वास जितिसकेको उनको भनाइ छ।
उनले प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रूपमा मात्र नभई स्वस्थ जीवनशैली सिकाउने विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। “रोग लागेपछि मात्र उपचार गर्ने होइन, रोग लाग्नै नदिने संस्कार विकास गर्नु आवश्यक छ,” उनले भने।
प्राकृतिक चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले डा. पौडेललाई प्रबल जनसेवा श्री पदकबाट सम्मानित गरिसकेको छ।
विस्तारको तयारी
पूर्व–पश्चिम राजमार्गको रजहर बजारबाट करिब ७०० मिटर दक्षिणमा रहेको चिकित्सालय १० बिघा क्षेत्रफलमा फैलिएको छ। हाल १५० शय्या क्षमता रहेको अस्पतालमा तीनै तहका सरकारको सहयोगमा पूर्वाधार विस्तार भइरहेको छ।
गण्डकी प्रदेश सरकारको सिफारिस तथा राष्ट्रिय योजना आयोगको १२ करोड ४६ लाख रुपैयाँ विशेष अनुदानमा नयाँ भवन निर्माण भइरहेको छ। भवन सम्पन्न भएपछि अस्पतालको शय्या क्षमता १५० बाट बढाएर ३०० पुर्याउने लक्ष्य राखिएको छ।
हालसम्म पूर्वाधार, उपकरण तथा सेवा विस्तारमा करिब ३५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको चिकित्सालयले जनाएको छ। भविष्यमा यसलाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना समेत अघि सारिएको छ।


