
काठमाडौं – मधुमेह(डाइबिटीज) एक दीर्घकालीन रोग हो जसमा शरीरले रक्तमा सुगर (ग्लुकोज) को मात्रा नियन्त्रण गर्न सक्दैन। सुगर शरीरको मुख्य ऊर्जा स्रोत हो, र यसलाई शरीरमा इन्सुलिन नामक हर्मोनले नियन्त्रण गर्छ।
मधुमेहका सामान्य लक्षणहरूमा बारम्बार प्यास लाग्नु, बारम्बार पेशाब लाग्नु, अचानक तौल घट्नु, कमजोरी, थकान, र घाउ चाँडो नभरिनु समावेश छन्। नियन्त्रण नगरेमा यसले मृगौला, आँखा, हृदय र नसा मा दीर्घकालीन असर पुर्याउन सक्छ। मधुमेह भएका बिरामीहरूमा औषधि सुरु गर्न लाज मान्ने वा आलटाल गर्ने प्रवृत्ति हुन्छ। तर ह्याम्स अस्पतालकी डाक्टर सुबी खरेलका अनुसार, यस्तो सोच गलत हो।
नियमित औषधि सेवन आवश्यक
डाक्टर खरेलले सामान्य अवस्थामा मधुमेह नियन्त्रणका लागि खानपानमा ध्यान दिनु पर्याप्त हुने बताइन्। तर, जोखिम अवस्थामा बिरामीले औषधि नियमित खाएमा मात्र रोग नियन्त्रणमा रहने उनले बताइन्। औषधि नखाए अंगमा समस्या निम्तिन सक्ने उनकाे चेतावनी छ।
मधुमेहको औषधिले मृगौलामा असर गर्ने वा इन्सुलिन सुरु गरे जीवन समाप्त हुने जस्ता भ्रमहरू पनि गलत रहेकाे उनकाे भनाइ छ। खरेलले भनिन्, “मधुमेहको औषधिले मृगौलामा असर गर्दैन। मेटफोमिन औषधि रोकिने अवस्था भने मृगौलामा समस्या आएपछि मात्रै हो। त्यसैले डाक्टरको सल्लाहअनुसार समयमै औषधि सुरु गर्नुपर्छ। जटिल अवस्थामा सुरुमै इन्सुलिन सुरु गरेमा, उपचारपछि यसलाई बन्द पनि गर्न सकिन्छ।”
खानपान
उनका अनुसार फलफूलबारे धेरै गलत धारणाहरू छन्। मधुमेह भएकाले फलफूल खानु हुँदैन भन्ने सोच प्रचलित छ। खरेलले भनिन्, “आँप, पाकेको वा गलेको केरा, खरभूजा सीमित मात्रामा खाए पनि हुन्छ। बाँकी फलफूलले स्वास्थ्यमा फाइदा गर्छ। दिनमा १००–१५० ग्रामसम्म फलफूल खान सकिन्छ, जुन एन्टिअक्सिडेन्ट स्रोत हो। फलफूलमा रहेको प्राकृतिक सुगर (फ्रक्टोज) शरीरका लागि आवश्यक ऊर्जा दिन्छ, तर मात्रा नियन्त्रण गर्नु जरुरी छ।”
भात र आलूबारेको भ्रम पनि प्रचलित रहेकाे उनले बताइन्। खरेलका अनुसार, मात्रा मिलाएर खाने हो भने कुनै समस्या हुँदैन। “भात वा आलु कम मात्रामा खाने, तर फाइबरयुक्त तरकारी–सागसब्जी जस्तै काक्रा, मुला, गाजर पर्याप्त मात्रामा खाने। सुरुमा तरकारी खाएर भात खाए शरीरमा सुगरको मात्रा बढ्दैन” उनले सुझाव दिइन्।

