
पाल्पा- चिसोको तीव्रता बढेसँगै पाल्पा जिल्लामा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या उल्लेख्य रुपमा बढेको छ। अचानक तापक्रममा गिरावट आएपछि उपचारका लागि अस्पताल धाउने बिरामी बढेको पाल्पा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार अहिले दैनिक सरदर ५०–६० जना श्वासप्रश्वासका समस्या लिएर अस्पताल पुगिरहेका छन्। तापक्रम घट्दादेखि आवश्यक सावधानी र सुरक्षा नअपनाउँदा यस्तो किसिमका बिरामी बढ्ने गरेको चिकित्सकहरूले बताएका छन्। विशेषगरी ग्रामीण बस्तीका वृद्ध–वृद्धा, महिला र बालबालिकामा यो समस्या बढी देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
मौसमी परिवर्तनअनुसार खानपान र जीवनशैलीमा ध्यान नदिँदा श्वासप्रश्वाससँगै हाड–जोर्नी दुख्ने, आँखासम्बन्धी समस्या लगायतका बिरामी पनि बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। जिल्लाको मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, खस्यौली, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रसहित १० वटै स्थानीय तहका स्वास्थ्य चौकी तथा निजी अस्पतालहरूमा पनि यस्ता बिरामीको आगमन तीव्ररूपमा बढेको छ।
चिसो बढिरहेका बेला धुलो–धुवाँबाट जोगिन, खानपानमा विशेष ध्यान दिन र बिहान–साँझको कडा चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्किन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुझाव छ।


