
झापा- मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै चारआलीस्थित मनकामना अस्पताललाई बन्द गर्न निर्देशन दिएको छ। नियमन तथा आवश्यक स्वीकृति बिना सेवा दिँदै आएको अस्पताललाई दर्ता प्रक्रिया पूरा नगरेसम्म पूर्णरूपमा सञ्चालन रोक्न आदेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिएका छन्।
नगरपालिका तथा स्वास्थ्य कार्यालय, झापाले गत असोज ३० गते अस्पताललाई सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गरेको थियो। तर, अस्पतालले सो निर्देशिका अनुपालन नगरेपछि मेचीनगरले अस्पताल बन्द गर्ने निर्देशनसहित पत्र पठाएको हो।
नगरपालिकाले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय झापा, स्वास्थ्य कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगायतका सम्बन्धित निकायहरूलाई बोधार्थ जानकारी गराएको छ।
नगरको स्वास्थ्य शाखामा समेत अस्पताल दर्ता नभएको तथा अवैध रूपमा सञ्चालन गरेको प्रमाणित भएपछि कारबाही गरिएको अधिकारीले बताए। स्थानीय तह सञ्चालन ऐन अनुसार, स्थानीय स्तरमा स्थापित स्वास्थ्य संस्थाको अनुगमन तथा कारबाही गर्ने अधिकार नगरपालिकासँग रहेको बताइएको छ।


