
काठमाडौं, १० फागुन । काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाउने लक्ष्यका साथ जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोप अभियान सुरु गर्न लागेको छ ।
आइतवारदेखि सुरु हुने अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाउन लागिएको हो । कार्यालयले अभियान अन्तर्गत ५ लाख ९७ हजार ३ सय ५ बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।
काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले १५ दिने खोप अभियानमा काठमाडौंका ११ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ । काठमाडौं महानगरमा सबैभन्दा धेरै २ लाख ५० हजार बालबालिकालाई खोपका लागि योग्य रहेको तथ्यांक रहेको छ ।
त्यस्तै शंखरापुरमा ७ हजार ५ सया ६७, कागेश्वरी मनोहरामा ५० हजार २ सय ८२, गोकर्णेश्वरमा ४९ हजार ६ सय ८२, दक्षिणकालीमा ८ हजार ५ सय १७, नागार्जुनमा २९ हजार २ सय ३४, टोखामा ४९ हजार ९ सय २ जनलाई खोप लगाउने लक्ष्य रहेको छ । त्यस्तै, तारकेश्वर नगरपालिकामा ४१ हजार ४ सय ३४, बुढानिलकण्ठमा ५० हजार ३२ जना, चन्द्रागिरीमा ३५ हजार ६ सय १८, कीर्तिपुरमा २५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोपकेन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिने भएका छन् ।
१५ दिनमा खोप अभियान नसकिए समयावधि थप्ने कार्यालयको योजना रहेको छ । खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेलाको अलावा नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ । जस अन्तर्गत डिपीटी, पिसीभी र आईपिभी खोप लगाउने सरकारी योजना रहेको छ ।
सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरुमा काठमाडौं लगायत जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रुपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो । काठमाडौं लगायत २३ वटा जिल्लामा दादुरा रुबेलाको महामारी देखिएपछि सरकारले सन् २०२३ सम्म दादुरा निवारणको लक्ष्यलाई ३ वर्षपछि धकेलेको हो ।
सरकारी तथ्यांक अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समुहको खोपमा पहुँच पुर्याउनुपर्ने बाध्यता रहेको छ ।