अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाइन्छ । यो अवधिमा स्तन क्यान्सरका सम्बन्धमा जनचेतना विस्तार र परीक्षण अभियान चलाउने गरिन्छ । यस अवसरमा हामीले स्तन क्यान्सरलाई जितेकी शुभेच्छा घिमिरेको कथालाई प्रस्तुत गरेका छौं ।
शुभेच्छा घिमिरेले एक कालखण्डमा लगभग जीवनसँग हार मानिसकेकी थिइन् । आशा र सपनाहरु निराशा र अवसादमा डुबिसकेका थिए । मानवअधिकार र विकास विषयमा अध्ययन गरेर विभिन्न अन्तराष्ट्रिय संघसंस्थामा काम गरिरहेकी सक्षम, शिक्षित र सम्पन्न परिवारको व्यक्ति भएपनि उनलाई ३२ वर्षकै उमेरमा क्यान्सरको आक्रमणले शिथिल र कमजोर बनायो । परिवारका सदस्यका अनुहारबाट कान्ति हरायो ।
बेलायतमा बस्ने शुभेच्छालाई सन् २०१६ मा एकदिन नुहाँउदै गर्दा एक्कासि उनको अवचेतन मश्तिष्कले शरीरमा केही न केही समस्या भएको सूचना दियो । त्यसपछि चिकित्सककोमा पुगेकी उनलाई स्तन क्यान्सरको दोश्रो चरणमा पुगेको थाहा लाग्यो । परिवारमा कुनै क्यान्सरको इतिहास नभएको भएपनि शुभेच्छालाई क्यान्सर भएपछि सबै परिवार तनावमा डुब्यो ।
नेपालमा रहेका बुबाआमा अँत्तालिँदै बेलायत पुगे । परिवारमा सन्नाटा छायो । बिहे गरेर सन्तानको योजना बनाउँदै गर्दा क्यान्सरसँग पौठेजोरी खेल्न विवश छोरीको अवस्था देख्दा उनका बुबा औषधि उद्योगी समेत रहेका शंकर घिमिरे र उनी पत्नि गहिरो अवसादमा डुबे ।
तर, रोगसँग हारेर बस्ने अवस्था थिएन । शुभेच्छाको तत्काल उपचार सुरु गरियो । सुरुमा चिकित्सकले हार्मोनको सामान्य उचारचढाव होला भन्ने ठानेका थिए । तर, बायोप्सी गरेर हेर्दा क्यान्सर भएको थाहा भएको थियो । ६ चरणको केमोथेरापी र १५ राउण्डको रेडियोथेरापी गरेपछि हाल उनी दशवर्षका लागि हार्मोन सन्तुलन गर्ने औषधि सेवन गरिरहेकी छिन् ।
केमोथेरापी र रेडियोथेरापीले कपाल, नंगदेखि आँखीभौं सम्म झरेर उजाड बनेको शुभेच्छाको शरीरमा विस्तारै कान्ती पलाउन थाल्यो । मर्दै गएका आशाहरु सम्भावना र खुशीका किरणहरु बोकेर फिर्ता आउन थाले । अरु त अरु शुभेच्छाले सन्तानलाई जन्म दिएर स्तनपान समेत गराइन् । यसरी उनको मरिसकेको जीवनप्रतिको मोह फेरि पलाउन थाल्यो । परिवारमा खुशीका रंगहरु रंगिए ।
क्यान्सर भन्ने बित्तिकै जिब्रो काट्ने समाजलाई क्यान्सरका बारेमा जनचेतना फैलाउन संकल्प लिइन् शुभेच्छाले । आफ्नो क्यान्सर अनुभव र क्यान्सर विरुद्ध आफुले अपनाएका उपचारपद्धति र विधिका बारेमा धेरैलाई सुनाउने निधो गरेर शुभेच्छाले किताब प्रकाशित गरेकी छिन् । सन् २०२० मा प्रकाशित उनको किताब क्यान्सर करि एण्ड मी पुस्तकको हाल नेपाली र बर्मेली भाषामा पनि अनुवाद भएको छ ।
शेभच्छाका हजुरबुबा बर्माबाट नेपाल आएका व्यवसायी हुन् । उनको किताब पढेर प्रभावित भएका बर्माका एक चिकित्सक बुबाछोरीले शुभेच्छाको बर्मासँगको सम्बन्ध थाहा पाएपछि उनको किताब अनुमति लिएर उनीहरुले बर्मेली भाषामा पनि अनुवाद गरेका छन् ।
शुभेच्छा हिजोआज शारीरिक र मानसिक स्वास्थ्यका बारेमा मानिसहरुलाई सचेत गराउन लागेकी छिन् । सकरात्मक सोच र अनुशासनले कसरी गुमिसकेको जीवन फिर्ता ल्याउन सकिन्छ भन्ने उदाहरण बनेर खडा भएकी छिन् शुभेच्छा । उनले जीवनमा आफ्नो कामसँगै क्यान्सरका क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेकी छिन् । उनले स्तन क्यान्सरका बारेमा सचेत हुन महिलालाई अपिल गरेकी छिन् । ससाना लक्षण देखिएपछि चिकित्सकसँग परामर्श गर्न सुझाव दिएकी छिन् ।