काठमाडौँ, ३० असोज । मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र सानो र ठुलो आन्द्रा जोड्ने अर्को एक मसिनो आन्द्रा रहेको हुन्छ ,जसलाई नै हामी ‘एपेन्डिक्स’भन्छौ ।
एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आमव्यक्तिको सहजताका लागि यसलाई ‘जुकेआन्द्रा’पनि भन्ने गरिन्छ। प्रत्येक व्यक्तिको शरीरमा रहने यसअंगको मुख्य काम भनेको आन्द्रालाई आवश्यक फ्लोरा अर्थात् ब्याक्टेरिया तथा लिम्फोसाईट्स (सेतो रक्तकोषिका)हरु प्रदान गर्नु हो।
तर, विभिन्न कारणवश यस अंगमा संक्रमण भएको खण्डमा यो भित्रभित्रै सुन्निएर पाँकेर आउँछ । फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पिडा उत्पन्न गराउँछ । र, सोहि एपेन्डिक्सकै कारण उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाईटिस’भनिन्छ।
व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ।
यसका कारणहरु
–क्यान्सर वा रगतका कारण एपेन्डिक्समा हुने संक्रमण
–आन्द्रामा ग्याँस भरिनु
–एपेन्डिक्सलुमेन(भित्र)मा दिसा अड्किनु
–पेटमा कुनै गहिरो चोट लागेमा
–र, पाचन नलीको संक्रमण।
लक्षणहरु
–सर्वप्रथम बिरामीको नाभी वरपरि दुखाईको महशुस हुनु
–सो पिडा विस्तारै पेटको दाहिने भागतर्फ सर्दै जानु
–दुखाईसंगै शरीरमा ज्वरोको मात्रा बढ्दै जानु
–खोक्दा, हिड्दा तथा शरीर चलाउँदा असहज महशुस हुनु
–भोक नलाग्नु
–वाक्वाकी तथा बान्ता हुनु
–कब्जियत वा झाडा लाग्नु
–पेटमा ग्याँस भरिनु
–र, शरीरबाट ग्याँसबाहिर निस्कनमा कठिनाई हुनु।
जोखिम न्युनिकरणका उपायहरु
हालसम्म एपेन्डिटाईटिस रोकथाम गराउँने क’नैपनि पक्षको वैज्ञानिक रुपमै प्रमाणित भएको छैन । यद्यपि उच्च फाइबरयुक्त खाना, अन्नको अत्याधिक सेवन, ताजा फलफुल तथा हरियो तरकारीले भने यसको जोखिमलाई केहि हदसम्म कम गराउन मद्दत गर्दछ।
उपचार
एपेन्डिटाईटिसको उपचारअन्तर्गत शल्यक्रिया र औषधिको प्रयोग गरी दुई प्रक्रियाहरु रहेका हुन्छन्।
सर्वप्रथम औषधिको प्रयोगद्वारा गरिने उपचारको सन्दर्भमा भन्नुपर्दा यसअन्तर्गत बिरामीमा दुखाईको कमी भएता पनि कालान्तारमा पनि सोहि समस्या पुनः नबल्झिएला भन्न सकिदैँन ।
अर्थात्, औषधिको प्रयोगले तत्कालका लागि दुखाई कम गर्ने भएता पनि पछि गएर अधिकांश बिरामीको एपेन्डिक्समा वरपरको आन्द्राहरु टाँसिने, फुटेर जाने वा पिप भरिने जस्ता विविध समस्याहरु देखापर्ने सम्भावना यथावत् नै रहन्छ । र, यसअर्थमा भन्नुपर्दा शल्यक्रिया नै एपेन्डिटाईटिसका बिरामीको उचित उपचार हुन्।