काठमाडौँ १९ असोज । स्तनका कोशिकाहरू अनियन्त्रित रुपमा बाहिर थाली त्यसले निम्त्याउने घातक अवस्था नै स्तन क्यान्सर हो । अर्थात् स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ।
स्तन क्यान्सर क्यान्सर भन्ने बित्तिकै सामान्यता : धेरैजसोले महिलामा हुने समस्या भन्ने बुझिन्छ । तर, यो क्यान्सरले महिला पुरुष दुवैलाई सताउने गरेको पाइन्छ । यद्यपि तुलनात्मक रुपमा यसको जोखिम पुरुषलाई १५० गुणा कम हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।
स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूले यसको जोखिमलाई बढावा दिएको पाइन्छ :
-करिब १० प्रतिशतमा वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारण
-हर्मोनहरुमा गडबडी
– मदिराको नियमित सेवन ।
-परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा
-जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ ।
-दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ ।
-महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ ।
-बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ।
-बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।
लक्षण
-स्तन वा काखीमुनि गिर्खा वा डल्लो मासु देखिनु
-स्तनको छालामा सुन्तलाको बाहिरी बोक्राजस्तो रङको हुँदै जानु
-निप्पलभित्रपट्टि छिर्दै जानु
-स्तनको निप्पल निचोर्दा पानी र पिप बग्नु
-रातो घाउ हुनु
-सानो गिर्खा हुँदा नदुख्ने, छिटो बढ्ने र छाम्दा कडा खालको आकारप्रकार हुनु ।
स्तन क्यान्सरको पहिचान कसरी गर्ने ?
नियमित रुपमा २० वर्षपारि महिलाले महिनावारी भएको १० दिनपछि महिनामा एकपटक ऐनाअघि उभिएर स्तन र काखीको वरपर गाँठागुठी छ कि छैन हेर्नुपर्छ ।
यससँगै निप्पलमा पनि केही असामान्य परिवर्तन छ भनेर हेर्नुपर्छ । यदि स्तन तथा काखीमा गिर्खा भएको अनुभव भएमा क्यान्सर होस् वा नहोस् चिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । सुरुमा गाँठागुठी कतिको सामान्य हो भनेर पहिचान गर्न अल्ट्रासाउण्ड गरिन्छ । त्यस्तै ४५ वर्ष काटेका महिलामा अल्ट्रासाउण्ड र मेमोग्राम दुवै गरिन्छ । मेमोग्राम र अल्ट्रासाउण्ड गरेर हेर्दा पनि रिपोर्ट शंकास्पद आएमा बायोप्सी गरिन्छ ।
के यो पूर्णतया निको हुन्छ ?
स्तन क्यान्सरका चार चरण छन्, जसमध्ये पहिलो र दोस्रो चरणमा छ भने शतप्रतिशत न्यून हुन सक्छ । तर तेस्रो चरणमा जटिल र सम्भावना केही कम हुन्छ । चौथो चरणमा छ भने
केही आयु बढाउन सकिन्छ तर पूर्णतया निको पार्न सकिंदैन ।
उपचार
क्यान्सरको उपचारमा शल्यक्रिया, किमोथेरापी, किमो रेडियोथेरापी र हार्मोनल थेरापी गरिन्छ । यी सबै विधि सबैमा लागू हुन्छ भन्ने हुँदैन । क्यान्सरको चरण र क्यान्सरको अवस्था हेरेर कुन उपचार विधि गर्नुपर्छ भनेर निर्धारण गरिन्छ ।